बुधबार १९ कार्तिक २०८२
काठमाडौ / १५औं महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसको किचलो एकाएक बढेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा संस्थापन पक्षका पुराना नेताहरुको घेराबन्दीमा परेका छन् ।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ सम्म महाधिवेशन गर्न भन्दै राखेको प्रस्तावलाई संस्थापन पक्षले ठाडै अस्वीकार गरिदिएको छ । त्यसैले महामन्त्रीको सो प्रस्ताव तुहिने करिबकरिब निश्चित भएको छ । निर्वाचन अगाडि नै महाधिवेशन गर्न कांग्रेसका महामन्त्रीलगायतका युवा नेताहरूले गरेको आग्रहलाई पार्टी संस्थापन पक्षले अस्वीकार गरिदिएको हो ।
महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा विकल्पसहित महाधिवेशनको मिति प्रस्ताव गर्नुभएके थियो । थापाले मंसिर २४ गतेसम्म क्रियाशील सदस्यता टुंग्याउने, मंसिर २७ गते ६७४३ वडाका अधिवेशन गर्ने, पुसको ५ र ६ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने र पुसको १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेकोमा त्यसलाई संस्थापन पक्षले एकमतले अस्वीकार गरेको हो ।
महामन्त्री थापाको प्रस्तावलाई काउन्टर दिँदै संस्थापनका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि २९ गतेसम्म १५औं महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो । अघिल्लो दिन संस्थापनले निकटका केन्द्रीय सदस्यको भेला डाकेरै १५औं महाधिवेशन वैशाख २७ देखि २९ गतेसम्म गर्नुपर्ने प्रस्ताव गरेको थियो । महाधिवेशनको कचिंगलका बीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक रोकेर कार्यसम्पादन समितिको बैठक डाक्नुभएको थियो ।
सो बैठकमा पनि महामन्त्रीहरूको प्रस्तावविरुद्ध संस्थापन निकटका पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य एक ठाउँमा उभिएका थिए । उनीहरूले कुनै पनि हालतमा चुनाव अगाडि १५औं महाधिवेशन गर्न नहुने अडान लिएका हुन् ।
पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार, गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महतसहितका नेताले महामन्त्रीद्वयले नेताहरुलाई गाली गर्ने गरेको र आफूखुसी विभिन्न प्रचार गर्दै पार्टी नै कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।
पछिल्लो समय संस्थापन निकटका बालकृष्ण खाँण, एनपी साउदसहितका नेताले समेत चुनावअघि महाधिवेशन गर्न नहुनेमा जोड दिँदै आएका छन् । नियमित महाधिवेशनको पक्षमा उभिँदै आएका डा. शेखर कोइरालाले पनि नियमित महाधिवेशनको अडान नलिएको महामन्त्री पक्षको आरोप छ ।







WRITE COMMENTS FOR THIS ARTICLE