शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

फागुनमा हुने चुनावमा यी नेताहरु उठ्नै नमिल्ने

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

बिहीबार २ असोज २०८२

काठमाडौं / प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । नेपालको संविधानको धारा ७६ (७) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोकेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको मुख्य कार्यभार प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ मा निर्वाचन गराउँदा केही चर्चित नेताहरु भने उठ्न नपाउने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका नेता मोहन बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आसन्न निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।

संविधानको धारा ८७ ले संघीय संसदको सदस्य हुनका लागि योग्यता तोकेको छ । जसअन्तर्गत नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएका व्यक्तिमात्रै संघीय संसद्को सदस्यको उम्मेदवार हुन पाउँछ । एकीकृत समाजवादीका अध्यक्ष नेपालविरुद्ध पतञ्जली योग पीठ जग्गा प्रकरणका प्रतिवादी हुन् । उनीविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ । भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्थामा उनी प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवार हुन पाउँदैनन् ।

त्यस्तै, नेपाली कांग्रेसका नेता मोहन बस्नेतविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ । उनी सञ्चारमन्त्री भएको बेलामा नेपाल टेलिकमको टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । विघटित संसद्को सदस्य समेत रहेका उनी यसअघि निलम्बित थिए । बस्नेतको मुद्दामा आगामी फागुन २१ गतेसम्म नटुङ्गिने निश्चित छ ।

त्यस्तै, रास्वपाका सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा छ । उनी पनि आसन्न फागुनको निर्वाचनमा सहभागी हुनबाट बञ्चित हुने निश्चित छ । लामिछाने अहिले नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् । लामिछानेविरुद्ध विभिन्न ५ वटा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएको छ । उनको मुद्दा अगामी फागुनसम्म टुङ्गो लाग्ने सम्भावना न्यून छ ।

त्यस्तै, नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीले पनि आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्न नपाउने निश्चित छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी पुर्पक्षका लागि थुनामा थिए । गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा उनी अरु कैदीबन्दीसँगै भागेका थिए । हाल उनी सम्पर्कमा रहेको बताइए पनि कारागार भने फर्किएका छैनन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रक्रियामा उनको संलग्नता रहेको दाबीसहित उनीविरुद्ध मुद्दा परेको थियो । हाल उनको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

त्यसैगरी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पनि आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणको अभियुक्त हुन् । उनीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उच्च अदालत पाटनको आदेशमा उनी धरौटीमा रिहा भएका हुन् । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x