शुक्रबार १६ साउन २०८२
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा चलाइएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आफूमाथि राजनीतिक पूर्वाग्रह र प्रतिशोध साँधिएको दाबी गरे ।
उनले आफूले जीवनमा एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरे । आफू प्रधानमन्त्री भएको बेलामा पतञ्जली योग पीठको जग्गा प्रकरणमा भएको निर्णयबाट राज्यलाई एक पैसाको पनि क्षति नभएको र त्यसलाई भ्रष्टाचार भन्न नमिल्ने उनको तर्क छ ।
‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो। जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’– उनले भने ।
अध्यक्ष नेपालविरुद्ध अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठको जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । अहिले उक्त मुद्दा विचाराधीन अवस्थामा छन् । अध्यक्ष नेपाल सो मुद्दामा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । विशेष अदालतले अध्यक्ष नेपाललाई सो मुद्दामा वारेस राख्ने सुविधासमेत दिएको छैन । source RN







WRITE COMMENTS FOR THIS ARTICLE