ह्याट्रिक’ गर्ने ज्ञानेन्द्र शाहको रहर


त्यसैगरी दाइ राजा वीरेन्द्रको २०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डमा वंशनाश भएपछि राजाको छोरा राजा हुने परम्परा विपरीत राजाको भाइ भएर पनि २०५८ साल जेठ २२ मा दोस्रो पटक राजा बन्ने सौभाग्य प्राप्त गरेका थिए। यसरी राजा त्रिभुवनको नाति भएर, राजा महेन्द्रको माइलो छोरा भएर र राजा वीरेन्द्रको छोरा नभइकन भाइ भएर पनि राजा बन्न पुगेका ज्ञानेन्द्र शाह अहिले भने पूर्वराजाको हैसियतमा एक नागरिकसरह बाँचिरहेका थिए।
उसो त ज्ञानेन्द्र शाहले आफ्नो स्वेच्छाले राजपाठ छोडेका भने होइनन्। राज्य सञ्चालन गर्ने आफ्नो ढङ्ग नपुग्दा र असक्षमताको कारण नै उनलाई राजगद्दी त्याग्न बाध्य पारिएको थियो। जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) र संसद्वादी पार्टीहरूको बीचमा खेलेर आफ्नो निरङ्कुशता र शासनसत्तामा नियन्त्रण गरिराख्ने उनको रणनीति जब असफल हुन पुग्यो, तब राजतन्त्र विस्तारै धर्मराउन थाल्यो।
राजतन्त्र र संसद्वादको विरुद्धमा भीषण लडाइँमा होमिएको माओवादी र राजतन्त्रलाई अविभावक मानी संसदीय राजनीतिमा सक्रिय रहेका काङ्ग्रेसलगायत सात राजनीतिक पार्टीको बीचमा निरङ्कुश राजतन्त्रको विरुद्ध सङ्घर्ष केन्द्रित गर्ने सहमति बनेपछि खास गरेर राजतन्त्रको आधार भत्किन थालेको थियो। जुन कुरा २०६२/६३ को दोस्रो संयुक्त जनआन्दोलनपछि विस्तृत शान्ति सम्झौता हुँदै पहिलो संविधान सभा (२०६४) को पहिलो बैठक २०६५ जेठ १५ गतेसम्म आउँदा गणतन्त्रको घोषणसँगै परिणाममा देखा पर्यो।
जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको संविधान बनाउने संस्था संविधान सभाले गणतन्त्र घोषणा गरेपछि २४० वर्षदेखि कहिले सक्रिय र कहिले निष्क्रिय रूपमा चल्दै आएको राजतन्त्र कानूनी रूपमा सदाका लागि अन्त्य हुन पुग्यो। राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा भएसँगै राजा ज्ञानेन्द्र पनि आफ्नो पोको-पुन्तुरो बोकेर नारायणहिटीबाट बाहिरिएका हुन्। पैसट्ठी सालसम्म बडामहाराजधिराज भएका ज्ञानेन्द्र अहिले पूर्वविशिष्टका हैसियतले सरकारी सुरक्षासहित व्यवसाय, घरबार र तीर्थयात्रा गरिरहेका छन्।
ज्ञानेन्द्रले राजदरबार छाडेको पनि १७ वर्ष बितिसकेको छ। तत्कालीन राजाको मुख्यालय नारायणहिटी राजदरबार राष्ट्रिय सङ्ग्रहालयमा परिणत भइसकेको छ। राजाका वरिपरिका भाइभारदारहरू र आसेपासेहरू विभिन्न स्वार्थ समूहमा विभक्त भइसकेका छन्। यो सत्र वर्षको अवधिमा देशमा लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, धर्म निरपेक्षता र सङ्घीयताजस्ता नवीन अभ्यासहरू भएका छन् र जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । थुप्रै सकारात्मक र नकारात्मक अनुभवसहित नेपाल आजको अवस्थामा आइपुगेको छ।
तर, ज्ञानेन्द्रको राजा हुने धोको अझै पूरा भएको रहेनछ। नेपाल सरकारले सम्मान नै गरेर उपलब्ध गराएको सुरक्षा र नागार्जुन दरबार वा निर्मल निवासमा बसेर भजनकीर्तन गरेर अनि देश विदेशको समाचार हेरेर मात्र कति बसिराख्ने भन्ने लाग्दो हो कहिलकाहीँ र गाडी निकालेर विभिन्न दर्शनभेट र सम्मानको नाममा यात्रमा निस्किरहने गरिरहेका छन्।
नारायणहिटी हुँदै आवतजावत गर्दा विगतले घच्घचाउँदो पनि होला र स्मरणहरूले नीदहराम पनि गर्दो हो। त्यसैले सायद देश विदेशको तीर्थयात्रा प्राथमिकतामा परेको पनि हुन सक्छ। जनताको छोरा सरकार प्रमुख भएको देख्दा, किसानको छोराछोरी राष्ट्रप्रमुख भएको देख्दा मन पनि पोल्दो हो र समय-समयमा राजाकै भान दिने गरी विज्ञप्ति जारी गर्ने गरेका छन्।
उनले आफूलाई राजाकै हैसियतमा राखेर विभिन्न चाडपर्व र विशेष समय सन्दर्भमा शुभकामना दिने र देशको चिन्ता प्रकट गर्ने कार्य विज्ञप्तिमार्फत दरबार छाडेदेखि नै गरिराखेका थिए। तर, यसपालीको प्रजातन्त्र दिवसको दिन फागुन ७ गते भने अलि महत्त्वाकाङ्क्षी विज्ञप्ति जारी गरे। देशमा अस्तव्यवस्तता रहेको र सङ्कट परेको भन्दै राष्ट्र बचाउन, समृद्धि र राष्ट्रिय एकता कायम गर्न अब आफूलाई सहयोग गर्न आह्वान गरे। विज्ञप्ति हेर्दा ज्ञानेन्द्रलाई न सांस्कृतिक राजा, न संरक्षक, उनलाई कार्यकारीको भोक जागेको देखिन्छ। नत्र भने ‘म आएपछि सब ठीक गर्छु’भन्ने मनसायको विज्ञप्ति जारी गर्ने थिएनन्।
यही विज्ञप्तिको जगमा केही राजसंस्थावादी सङ्घसङ्गठनहरूले पूर्वराजा ज्ञानेन्द्र पोखरादेखि काठमाडौं फर्कने क्रममा गत फागुन २५ गते काठमाडौंमा स्वागत गर्ने भनेर केही हजार मान्छे जम्मा पारे। केही मान्छेहरू स्वत:स्फूर्त पनि गए होलान्। यो भीड देखेपछि राजतन्त्रवादीहरू झनै हौसिए र ज्ञानेन्द्र आफैँ पनि अब उपयुक्त समय आएको निष्कर्षमा पुगे। र, विभिन्न वादविवादका बीच राजसंस्था पुर्नस्थापनाका लागि राजाकै प्रत्यक्ष निगरानी र पहलकदमीमा पूर्वराष्ट्रिय पञ्चायत अध्यक्ष बयोवृद्ध नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको गठन गरे।
राप्रपा र राप्रपा नेपालका केही नेताहरू,केही अन्य पूर्वपञ्चहरू, दुर्गा प्रसाईंजस्ता विवादित व्यक्तिहरू लिएर गठन गरिएको समिति जन्मनेबित्तिकै विवादित बन्न पुगेको र एक पञ्चले अर्को पञ्चलाई नस्वीकार्ने अनि समितिमा नबस्ने घोषणा गर्ने प्रक्रिया पनि चलिरहेको छ। अझभन्दा कसले धेरै पूर्वमहाराजको चाकडी गर्ने र जस लिने प्रतिस्पर्धा चलिरहेको छ।
गणतन्त्र घोषणा भएको दिनदेखि नै राजतन्त्रको वकालत गर्ने एउटा सानो शक्ति संविधान सभा हुँदै अहिलेको प्रतिनिध सभामा पनि छँदैछ र अझै रहला पनि। तर, सडक सङ्घर्षमार्फत या सैन्य विद्रोहमार्फत या वैदेशिक हस्तक्षेप निम्त्याएर भए पनि राजतन्त्रको पुर्नस्थापना गर्नुपर्छ भन्ने मानसिकता भने खतरनाक देखिन्छ।
गत चैत्र १५ गते गणतन्त्रको पक्षधर तर, सरकारको विपक्षी पार्टीहरूको समाजवादी मोर्चाले सरकारको विरुद्धमासुशासन र गणतन्त्रको सुदृढीकरणको पक्षमा खबरदारी सभाको आयोजना गर्यो। समाजवादी मोर्चाको सभालाई काउन्टर दिन भन्दै राजसंस्थावादीहरूले पनि सोही दिन काठमाडौंमा नै सभाको आयोजना गरे। समाजवादी मोर्चाको कार्यक्रम भृकुटी मण्डपमा आयोजना गरियो। सुरक्षा निकायकै रिपोर्टअनुसार पनि ३५ हजारभन्दा बढी जनसमुदायको उपस्थिति रहेको प्रदर्शन शानदार रूपमा सम्पन्न भयो। मोर्चाका शीर्षस्थ नेताहरूले अहिलेको सरकार, व्यवस्था, समस्या, समस्याका समाधानहरूलगायत विषयहरूमा आफ्ना धारणा र प्रतिबद्धताहरू सार्वजनिक गरे। उता त्यही समयमा, उही मितिमा राजावादीहरूको तीनकुनेको प्रदर्शन भने नेतृत्वका अराजक प्रवृत्ति, असङ्गठित र अनियन्त्रित मान्छेको भीड र गलत प्रशिक्षणको कारण लुटपाट र अराजकतामा रूपान्तरण भयो।
यसरी चैत्र १५ गते गणतन्त्रवादीको राजनीति कस्तो हो र राजावादीहरूको मण्डले प्रवृत्ति कस्तो हुन्छ भन्ने कुरा यो सानो डेमोले सबैका सामु स्पष्ट पारिदिएको छ। राजनीतिक पार्टीहरूको कार्यालयमा आक्रमण गर्ने, नेताका घरमा आक्रमण गर्ने, व्यवसायिक केन्द्रहरूमा लुटपाट गर्ने, सुरक्षाकर्मीको हतियार खोस्ने र दरबारिया मण्डले आतङ्क सृजना गर्ने यो कुनै राजनीतिक आन्दोलन होइन। न यो युद्ध हो, न आन्दोलन, न कुनै शान्तिपूर्ण सभा र प्रदर्शन, यो अराजकहरूको नौटङ्की मात्र हो।
अहिलेका राजनीतिक पार्टीहरू र अभ्यासरत गणतन्त्रले जनआकाङ्क्षाको पूरा सम्बोधन गर्न नसकेको कुरा साँचो हो। परिणाममुखी कार्यक्रम दिन नसकेको पनि साँचो हो तर, यति हुँदाहुँदै पनि जनतालाई रैतीबाट सार्वमभौम नागरिक बनाएको कुरा पनि साँचो। गणतन्त्रका थुप्रै सीमाहरू हुन सक्छन्। तर, वंशमा आधारित शासनभन्दा जनतामा आधारित शासन हजार गुणा बलशाली र उपयुक्त हुन्छ। यसमा समय क्रमानुसार सुधार गर्नुपर्ने धेरै कुराहरू छन्।
पूर्वराजा ज्ञानेन्द्रलाई राजगद्दीमा ह्याट्रिक गर्ने रहर लाग्न सक्ला। त्यसको लागि देशी विदेशी शक्तिहरूलाई गुहार्न पनि सक्ला। समर्थन र पदर्शनका केही ट्रायलहरू गर्न पनि सक्ला। हजार मात्र होइन, लाखको सङ्ख्यामा मानिसहरूले उनलाई जयजयकार गर्दै फूलपाती पनि चढाउँला तर, उनको ह्याट्रिक गर्ने सपना पूरा हुन सक्दैन। किनकि उनको विगत सुखद छैन, सन्ततीमा भरोसा छैन, उनी राजनीति कम र व्यापार बढी जान्ने मानिस हुन्। उनलाई घेरिएको घेरा अवसरवादीहरूको माखेसाङ्लोमा जेलिएको जालो हो। जसले राजतन्त्र भनेर भनिरहेका छन् तीनलाई राजाभन्दा पनि आफ्नो सुरक्षित राजनीति चाहिएको छ। र, आजको समाजले अंश र वंशको आधारमा चल्ने शासनभन्दास्नतन्त्रता, समानता र प्रतिस्पर्धामा आधारित गणतन्त्र नै स्वीकार गर्दछ।
यो कुरा ज्ञानेन्द्रको चेतन मनले स्वीकारेको पनि हुन सक्छ तर, फेरि उनको अबचेतन मनले यो देशको ठेक्का त मेरो पो हो, हिन्दू धर्म त म बाहेक अरुले संरक्षण नै गर्न सक्दैन, जता गए पनि सयौं मान्छेले स्वागत गरेका छन्, खरबौंको चलअचल सम्पत्ति छ, पुराना पार्टी र नेताहरूप्रति जनताको असन्तुष्टि चुलिएको छ, त्यसैले अब आँट्नुपर्छ भन्ने सोचेको होला। तर,अन्तर्मनको द्वन्द्वबाट चेतन मनलाई अबचेतन मनले दबाएर निर्णय गरिएको हो भने परिणाम अवश्य प्रत्यूत्पादक बन्नेछ।
तर, फेरि पनि गणतन्त्रवादीहरूलाई चुनावमा, लडाइँमा, आन्दोलनमा पराजित गरेर, करोडौं जनताको मन जितेर, सरकार प्रमुख वा राष्ट्र प्रमुख हुने अधिकार पूर्वराजा ज्ञानेन्द्रलाई छ। जुन कुरा मेरो असीवर्षे हजुरबुवासरहको ज्ञानेन्द्रले गर्न सक्छन् भनेर कसले पत्याइदिने ?दुईचार हजार मान्छे नियन्त्रण गर्न नसक्ने दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाउने, आफ्नो सल्लाहमा भएको घटनाको जिम्मासमेत लिन नसक्ने, आफैँ मैदानमा उत्रेर नेतृत्व गर्न नसक्ने, राजतन्त्र भन्दै पाँचतिर फर्केका पाँच टाउकाहरूलाई मिलाउन नसक्ने ज्ञानेन्द्रलाई नारायणहिटीको ढोका कसले खोल्दिने हो कुन्नि। स्रोत नागरिक न्युज
लेखक नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला सेक्रेटरी हुन्।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE