मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : गृह मन्त्री लेखी
राम स्वागत चौधरी
मङ्गलबार ११ मंसिर २०८१
नकपुरधाम / मधेश प्रदेशका गृह,सञ्चार तथा कानूूनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
इन्सेक मधेश प्रदेशले मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी तयार पारिएको विधेयक २०७८को मस्यौदामा प्रदेश सांसद र मानव अधिकारकर्मी वीच गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्रदेश सरकारको अस्थिरताको कारण मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणका लागि मानवअधिकार रक्षाको क्षेत्रमा काम गर्ने संस्थाहरु सँग छलफल गरी इन्सेकले तयार पारेको विधेयकको अपनत्व ग्रहण गर्न नसकेको हुन सक्ने बताउनु भयो । उहाँले इन्सेकले तयार गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धी विधेयकमा छुटेका विषयवस्तुलाई समावेश गरी मन्त्रालयलाई जिम्मा लगाउन आग्रह गर्नु भयो । कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले मानव अधिकार रक्षाका लागि काम गर्ने मानव अधिकार रक्षकहरुलाई सुरक्षित पार्नका लागि प्रदेश सरकारले छिटै विधेयक ल्याउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका अध्यक्षता गर्नु भएका इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले मानव अधिकार रक्षकको सुरक्षा र तालिम नभए सम्म मानव अधिकार रक्षकहरुले पिडकको पक्षमा काम गर्न सहज नहुने बताउनु भयो । उहाँले सन २०२३ मा ८३ जना मानव अधिकार रक्षकहरु पिडित भएको जसमा १९ जना मधेश प्रदेशको मात्रै रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै बक्ताहरुले लोकतन्त्रमा मानव अधिकारका विषय वस्तुहरु फराकिलो हुनुको साटो साँगुरिदै गएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाँहरुले विधेयकमा परिकल्पना गरिएको मानव अधिकार रक्षक परिषदको गठन विषयमा धेरै कुरा सुधार गर्नु पर्ने भन्दै परिषदको चार वर्षे कार्यकाललाई पाँच वर्ष गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य राजेन्द्र चौधरी ,शारदा देवी थापा सहितकाले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा विधेयक ल्याउनका लागि आफुहरुले सरकारलाई दवाव दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा सन २०२३मा देशभरी राज्य पक्षवाट ७९ र अन्य पक्षवाट एक हजार ११३ वटा मानअधिकार उलंघनको घटना भएको तथ्याँक प्रस्तुत गरिएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE