शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाली चलचित्रको स्वदेशमा प्रदर्शनको लागि असहजता : नीर शाह

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौँ / चलचित्र अभिनेता नीर शाहले नेपाली चलचित्रको स्वदेशमा प्रदर्शनको लागि असहजता रहेको बताउनुभएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा साहले सम्बन्धित निकायले प्रदर्शनमा सहजता नदिलाए विस्तारै निर्माताको मनोबल घट्ने बताउनुभयो ।

“हामीकहाँ हाम्रो चलचित्र देखाउने चलचित्र भवन नै छैनन् । ती विदेशी प्रदर्शन गर्न खोलिए जस्तो महसुस हुन्छ । अनि हाम्रो उद्योग कसरी हुन्छ ? हामीले कसरी विकास गर्छौँ ?”, अभिनेता शाहले भन्नुभयो, “हामीले वर्षमा एक सय हाराहारीमा चलचित्र निर्माण गरिरहेका छौँ ।

हामीलाई लगानी गर्न बैंकलगायतका वित्तीय संस्था तयार छैनन् । त्यसैले त्यसतर्फ ध्यान नदिदासम्म हामीले रुपान्तरण गर्न सक्दैनौँ ।” उहाँले चलचित्र राष्ट्रिय उद्योग नभई कर्मका रुपमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

“चलचित्रकर्मीले सत्यहरिश्चन्द्रदेखि आजको दिनसम्मको यात्रा तय गरिसक्दा वित्तीय व्यवस्थापन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्नुपथ्र्यो, त्यो गर्न सकिएको छैन । यो सबैभन्दा कमजोर पक्ष हो हाम्रो चलचित्र उद्योग नभएर कर्म मात्रै भएको छ”, शाहले भन्नुभयो ।

उहाँले नेपालको ३३ जिल्लामा चलचित्र भवन नरहेको बताउँदै भएका भवनमासमेत नेपाली चलचित्र प्राथमिकतामा नपर्नु दुःखद रहेको बताउनुभयो । बजारका दृष्टिकोणबाट पनि चलचित्र उद्योगलाई निकै सङ्कुचित ढङ्गले खुम्चाएर राखेको अवस्था रहेको अभिनेता तथा निर्देशक शाहको भनाइ थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले चाहेर पनि सोचेजस्तो काम गर्न नसकेको स्वीकार्दै नीति बनेपछि समस्या समाधान हुने बताउनुभयो । “म पनि यसअगाडि आफ्ना समस्या लिएर बोर्ड पुग्ने गरेको थिएँ । आफूले नेतृत्व गरेपछि यहाँ रहेका समस्या बुझेको छु ।

विद्यामान समस्या समाधानका लागि प्रभावकारी नीति आवश्यकपर्ने भएकाले त्यसमा जोड दिइरहेको छु”, उहाँले भन्नुभयो, “नेपाली चलचित्र विदेशी झैँ प्रतिस्पर्धामा उत्रिन विदेशी लगानी ल्याउनेमा जोड दिइरहेका छौँ । बोर्डले शतप्रतिशत नभए पनि केही लगानी ल्याउने वातावरण निर्माण गर्न पहल गरिरहेको छ ।”

अध्यक्ष केसीले प्रस्तावित चलचित्र नीति चलचित्रसँग सम्बन्धित संस्थासँग छलफल गरेर छिट्टै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गर्ने बताउनुभयो । नेपालमा स्वदेशी चलचित्र प्राथमिकतामा नपरेको र चलचित्र भवनले सो सङ्ख्यामा भेद्भाव गरेको भन्दै बेलाबखतमा आन्दोलन भए पनि त्यसले उचित नतिजा दिन सकेको छैन ।

गत पुस २७ मा प्रदर्शन भएको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ का निर्देशक दीपक श्रेष्ठले मल्टिप्लेक्समा वितरण हुने सङ्ख्या चलचित्रलाई प्रभाव परिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सो सङ्ख्या कम देखिने वित्तिकै उक्त चलचित्र राम्रो नरहेको प्रचार हुने रहेछ ।

राम्रोले बढी र नराम्रोले कम पाउने मानसिकता दर्शकमा रहेछ । हाम्रो चलचित्र नै नहेरी चलचित्र भवनले विदेशीलाई उल्लेख्य र स्वदेशीलाई न्यून सो दिनु आफैँमा दुःखद छ । यसबारे कसैले जोडदार आवाज उठान सकेका छैनन् ।” उहाँले चलचित्र प्रदर्शनको पहिलो दुई दिन विदेशी चलचित्र बराबर सो सङ्ख्या उपलब्ध गराएर उक्त समयमा हुने व्यापारका आधारमा तेस्रो दिनदेखि सो दिनुपर्नेमा जोड दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x