शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कांग्रेसमा ‘भद्रगोल’ सरकारमा सहभागी भएर प्रभावकारी काम गर्न नसकेको भनेर पार्टीभित्रै आलोचना 

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

सोमबार २५ मंसिर २०८०

काठमाडौं। संसदको सबैभन्दा ठूलो दल र सरकारको प्रमुख सहयात्री नेपाली कांग्रेस यतिबेला भद्रगोलमा परेको टिप्पणी हुन थालेको छ। महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी भएको कांग्रेसले प्रभावकारी काम गर्न नसकेको भनेर पार्टीभित्रै आलोचना हुन थालेको छ।

विशेष गरी सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै महामन्त्री गगन थापाले सार्वजनिक रुपमा विरोध जनाउँदै आएका छन्। थापाले त अहिले सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई एकल रुपमा सरकारको नेतृत्व गर्न दिनुपर्ने र सहमति अनुसार कांग्रेस नेतृत्वमा सरकार गठन हुने बेलामा पनि कांग्रेसले एकल सरकार गठन गर्नुपर्ने तर्क गर्दै आएका छन्।

त्यसो हुन सक्यो भने सरकारको राम्रा र नराम्रा दुवै कामको भागिदार सरकारको नेतृत्व गरेको दल हुनुपर्ने उनको तर्क छ।

आइतबार मात्रै महामन्त्री थापाले नागरिकहरु कुशासनका आक्रान्त भएको भन्दै सरकारको कामप्रति असन्तुष्टि जनाए। आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण कार्यक्रममा थापाले थापाले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको बताएका हुन्।

महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको टिप्पणी गरे । उनले कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन्? भन्दै प्रश्न गरे।

नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास काण्ड र सुन काण्डपछि अहिले फेरि एनसेल काण्डले देश तरंगित भएको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘कुशासन कि नियतसँग जोडिएको छ कि अयोग्यतासँग जोडिएको छ। शासन हामीले गरिरहेका छौं। सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो। त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन्? यति धेरै काण्डहरू किन भइरहेको छन्? जरामा के छ? समस्या कहाँनेर छ? के कारणले गर्दा आएको छ?

पार्टी सरकारमा भएपनि जनताले सरकार भएको अनुभूति गर्न नपाएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सभापति शेरबहादुर देउवाले भने महासमिति बैठक सार्ने तयारी गरेका छन्।

देउवाले पुस १६ देखि १९ गतेसम्म बस्ने तय गरेको महासमिति बैठक सार्ने तयारी गरेका हुन्। यसअघि पनि पटक पटक सार्दै आएको महासमिति बैठक पुस १६ देखि १९ सम्म राजधानीमा बस्ने तय भएको थियो।

तर, राष्ट्रिय सभा निर्वाचन र जाडोलाई देखाएर बैठक सार्ने तयारी भएको हो। स्रोतका अनुसार माघ अन्तिम वा फागुनको पहिलो हप्तासम्म महासमिति बैठक सार्ने तयारी छ।

यसअघि मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस दुई गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको थियो। सो बैठक पनि निर्धारित समय अगावै पुस १६ देखि १९ सम्म सार्ने निर्णय गरिएको थियो।

‘अहिले जाडोको सिजन सुरु भएको छ भने राष्ट्रियसभा चुनावको मिति पनि तोकिएको छ, यस्तो अवस्थामा निर्वारित समयमा महासमिति बैठक हुने सम्भावना काम छ,’ स्रोतले भन्यो, ‘राष्ट्रियसभा चुनाव र जाडो पछि माघ अन्तिम वा फागुनको पहिलो सातामा गर्ने गरी बैठक सार्ने तयारी छ।’

यतिबेला सभापति देउवाको ध्यान प्रधानमन्त्रीको कुर्सीमा केन्द्रित रहेको कांग्रेस नेताहरु बताउँछन्। ‘कतिबेला प्रचण्डले कुर्सी छाड्लान् र आफू छैटौँ पटक प्रधानमन्त्री बनौँला भनेर सभापतिको सम्पूर्ण ध्यान प्रधानमन्त्रीको कुर्सीमा केन्द्रित छ, ’ कांग्रेसका एक नेता भन्छन्, ‘ २०८२ मै चुनाव गरेर देउवालाई हुत्याउन पाइयो भने रजगज गर्न पाइन्छ कि भनेर छोरा पुस्ता गगन थापा दाउ हेरेर बसेका छन्।’

पार्टीमा सबैले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर काम गर्दा पार्टीमा ‘भद्रगोल’ चलिरहेको भन्दै एकथरीले चिन्ता व्यक्त गरेका छन्।

‘१४ औं महाधिवेशनमा महामन्त्रीमा जितेपछि अब त चमत्कारै चमत्कार हुन्छ भनेर जसरी गगन र विश्वप्रकाशप्रति धेरै प्रचार गरियो,’ ती नेताले भने, ‘पार्टीलाई उनीहरुले चलायमान बनाउन सकेनन्। गत साउनमा बसको केन्द्रीय समिति बैठकमा निकै जोशका साथ एजेन्डा लिएर गएका थिए। तर त्यो एजेन्डा पारित त भयो काम भने गरेनन्। केन्द्रीय समितिको स्वामित्वका क्यालेन्डरको केही अंशमात्र लागू भएको छ। कांग्रेसले पहिलो पटक बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा ‘बीपी साहित्य महात्सव’ ग¥यो। यो सर्वाधिक सफल भयो तर यसमा राजनीति भन्दा पनि बीपीको साहित्यमा बढी जाड दिइएको थियो।’

‘गगन विश्वप्रकाशबाट अपेक्षा गरे अनुसार पार्टी चलेको भए कांग्रेसले २०८४ को चुनावलाई लिएर अहिले नै छट्पटाउनु पर्ने थिएन। किन २०८४? अहिले काम गरे भैगो नि।,’ ती नेताले भने।

कांग्रेसले तेस्रो चरणको अभियानअन्तर्गत मंसिर १५ देखि माघ १५ सम्म दुई महिने घरदैलो अभियान चलाउने क्यालेन्डर बनाएको थियो। तर त्यो कार्यक्रम हुन सकेन।

‘यो दुःख कसले गरोस्। सौखिन नेताहरुका कारण पार्टी त दुबाएको छ नै देश पनि बरबादीतर्फ धकेलिएको छ। कांग्रेसको महासमिति बैठकसमेत सर्दैछ। तर चिन्ता कुन पक्षका कति जना महासमिति सदस्य आउँछन् भन्नेमै अल्झिएका छन् नेताहरु। कसको पक्षमा कति मान्छे हुन्छन् भन्नेबाहेक केही रहँदैन,’ ती नेताले भने।

यसैबीच नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन्। राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायत पार्टीको पछिल्लो आन्तरिक समीकरणको विषयमा छलफल गर्न पार्टीभित्र इतर पक्षका नेता डा. कोइरालाले पुस २६ गतेका लागि बैठक बोलाएका हुन्।

बैठकमा आफ्नो टिमबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाको सांसदहरूलाई बोलाइएको छ। तर, कोइरालाले आफ्नो टिमबाट निर्वाचित महामन्त्री गगन थापासँग यो बैठकको विषयमा सल्लाह गरेका छैनन्।

कोशीमा नेता कोइराला पक्षले विद्रोह गरेपछि गगनसँग संवादहीनताको अवस्था छ। महामन्त्री थापाले पछिल्लो समय अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत युवा पंक्तिलाई समेटेर १५औं महाधिवेशनलक्षित अर्को टिम निर्माणको गृहकार्य गरिरहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x