मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

बागमती सरकारबाट तत्काल बाहिरिएन एमाले, कांग्रेससँगको सत्ता सहकार्य यथावत

केन्द्रको निर्देशन नआएसम्म सरकारमै रहने निष्कर्ष, ६ मन्त्रीको सामूहिक राजीनामा पनि रोकियो
Spread the love

काठमाडौं, ४ साउन २०८३। नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने निर्णय नगरी केही दिन थप छलफल गर्ने निष्कर्ष निकालेको छ। काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिको समीक्षा गर्दै सरकार छाड्ने विषयमा हतारमा निर्णय नगर्ने निर्णय गरेको हो।
बैठकपछि एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठ ले सरकारबाट बाहिरिने वा नबाहिरिने विषयमा अझै कुनै अन्तिम निर्णय नभएको स्पष्ट पार्नुभयो। उहाँले पार्टी केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म एमाले सरकारमै रहने बताउनुभयो।
संसदीय दलका नेता जगन्नाथ थपलिया ले पनि केन्द्रको निर्णय, राजनीतिक घटनाक्रम तथा अन्य दलसँगको छलफलपछि मात्रै आगामी रणनीति तय गरिने जानकारी दिनुभयो। यसअघि एमालेका ६ मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरे पनि पार्टी केन्द्रको निर्देशनपछि उक्त प्रक्रिया रोकिएको थियो।
हाल बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ मन्त्री सहभागी छन्। मन्त्रालयको संख्या १४ बाट ८ मा झारिएपछि संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण पूरा नहुँदासम्म केही मन्त्रालयमा एकभन्दा बढी मन्त्रीलाई विषयगत जिम्मेवारी बाँडफाँट गरेर काम गराइएको छ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ का अनुसार ओ एन्ड एम प्रक्रिया सम्पन्न भएपछि हाल बिनाविभागीय जिम्मेवारीमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाइनेछ।
एमालेले तत्काल सरकार नछाड्ने निर्णय गरेसँगै बागमती प्रदेशमा कांग्रेस–एमालेबीचको सत्ता सहकार्य हाललाई यथावत रहने भएको छ। अब पार्टी केन्द्रको निर्णय र आगामी राजनीतिक समीकरणले बागमती प्रदेश सरकारको भविष्य तय गर्ने देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x