मंगलबार एसइई नतिजा सार्वजनिक गर्ने तयारी

सोमबार २८ बैशाख २०८३
काठमाडौ / राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक सबै प्राविधिक तयारी पूरा भइसकेको छ।
बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवाली ले शिक्षा मन्त्रालय, सचिव र बोर्डको बैठकपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन्। उनका अनुसार यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा प्रकाशन प्रक्रिया छिटो सम्पन्न भएको हो। विगतमा कापी परीक्षणमै करिब एक महिना लाग्ने गरेको थियो।
१९ देखि २९ चैतसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ४६ हजार ५७६ र ग्रेडवृद्धितर्फ ६३ हजार ४८५ विद्यार्थी सहभागी भएका थिए। परीक्षामा २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र सहभागी भएका थिए।
एसइई सकिएपछि ५ वैशाखमा देशभरका ७७ जिल्लाबाट उत्तरपुस्तिका भक्तपुरको सानोठिमी स्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याएर प्राविधिक प्रक्रिया सुरु गरिएको थियो।
विगतका वर्षहरूमा एसइईको नतिजा सार्वजनिक गर्न करिब तीन महिना लाग्ने गरे पनि यसपटक निर्देशिका परिमार्जन गरी एक महिनामै नतिजा प्रकाशन गर्ने व्यवस्था गरिएको हो। समयमै नतिजा आउने भएपछि विद्यार्थीलाई कक्षा ११ अध्ययनको विषय छनोट तथा भविष्यको योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE