बिहिबार, असार ११, २०८३
Thursday, June 25, 2026

कक्षा १२ को नतिजा सार्वजनिक: ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण

 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् ।

बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन् ।

नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९.७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन् । सोही समूहका १ लाख ४७१ विद्यार्थीले भने ‘एनजी’ (नन–ग्रेड) को सामना गर्नुपरेको छ, जुन नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो ।

परीक्षामा अमर्यादित गतिविधिमा संलग्न ४० जना परीक्षार्थीको परीक्षा भने बोर्डले रद्द गरेको छ ।

कुन जीपीएमा कति विद्यार्थी?
नतिजाअनुसार उत्तीर्ण विद्यार्थीमध्ये सबैभन्दा धेरै २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने समूहमा रहेका छन् । विवरणअनुसार:
– ३.६१ देखि ४.० जीपीए: १७ हजार ७८६ जना
– ३.२१ देखि ३.६० जीपीए: ६४ हजार ८२१ जना
– २.८१ देखि ३.२० जीपीए: ९४ हजार २४९ जना
– २.४१ देखि २.८० जीपीए: ५० हजार ५९७ जना
– २.०१ देखि २.४० जीपीए: ४ हजार ३०८ जना
– १.६१ देखि २.०० जीपीए: ९ जना

पूरक परीक्षाको अवसर
बोर्डले नतिजासँगै पूरक (मौका) परीक्षाको समेत मार्ग प्रशस्त गरेको छ । नीतिगत व्यवस्थाअनुसार सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउन नसकेका, बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् । बोर्डले यससम्बन्धी समयतालिका छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ ।

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको वेबसाइट तथा एसएमएस सेवामार्फत सहज रूपमा हेर्न सक्नेछन् ।

कक्षा १२ नतिजा एक झलक
विवरण संख्या प्रतिशत
कुल सहभागी ४,९५,१७० १००%
कुल उत्तीर्ण २,६८,१९० ६४.३१%
नियमित उत्तीर्ण २,३१,७७० ६९.७५%
एनजी प्राप्त १,००,४७१ ३०.२५%
परीक्षा रद्द ४० –

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x