विकास र सुशासनका लागि सरकार प्रतिबद्ध : महामन्त्री बुर्लाकोटी

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले मुलुकको विकास, समृद्धि र सुशासनका लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले विकास निर्माणका साझा एजेन्डामा सबै राजनीतिक दलसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट पारे। जनताले रास्वपालाई दिएको मत संसद् वा सडकमा अन्य दलसँग द्वन्द्व सिर्जना गर्न नभई देश निर्माणका लागि दिएको भन्दै उनले सहकार्य र सहमतिमार्फत अघि बढ्ने नीति पार्टीको रहेको बताए।
महामन्त्री बुर्लाकोटीले बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सरकारले विशेष पहल गरिरहेको जानकारी दिए। यस विषयमा अर्थ मन्त्रालयसँग पटक–पटक सकारात्मक छलफल भइरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको लगानीमार्फत उद्योग सञ्चालन गर्ने सम्भावना पनि रहेको बताए।
“सरकारले प्रत्यक्ष सञ्चालन गरे पनि वा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत अघि बढाए पनि गोरखकाली रबर उद्योग जुनसुकै अवस्थामा सञ्चालन हुनुपर्छ,” उनले भने, “नेपाली सडकमा गुड्ने सबै सवारीसाधनमा गोरखकाली रबर उद्योगकै टायर प्रयोग भएको देख्ने हाम्रो सपना हो।”
उनले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको समेत जानकारी दिए। आयोजना समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
बुर्लाकोटीले आर्थिक विकास, औद्योगिकीकरण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उल्लेख गर्दै समृद्ध नेपालको लक्ष्य हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE