मौलापुरकी मेयर रिना साहको चेतावनी: गैरकानूनी हस्तक्षेप रोकिएन भने नगरपालिकामा ताल्चा लगाउन बाध्य हुने

मङ्गलबार ५ जेठ २०८३
काठमाडौं / रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रधानमन्त्रीलाई नगरपालिकामा भइरहेको गैरकानूनी हस्तक्षेप तत्काल बन्द नगरे ताल्चा लगाउन बाध्य हुने चेतावनी दिएकी छन्।
मंगलबार जारी प्रेस वक्तव्यमा उनले मौलापुर नगरपालिकामा संविधान र कानूनअनुसार कार्य सञ्चालन गर्न निर्देशन दिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेकी छन्। अन्यथा नगरपालिकामा ताल्चा लगाउन बाध्य हुने उनले बताएकी छन्।
*के भन्छिन् मेयर साह?*
मेयर साहका अनुसार नगरसभाबाट पारित बजेटअनुसार “फ्री बिजुली, फ्री पानी” र “छोरीसँग मेयर कार्यक्रम” अन्तर्गतको रकम भुक्तानीमा ढिलाइ भएको छ।
उनले चालु आर्थिक वर्षको सुरुमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृत महिनौंसम्म हाजिर नभएको, र अहिले वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले पठाएको अधिकृत पनि नियमित कार्यालयमा नआएको आरोप लगाएकी छन्। साथै बैंक खाता खोल्नसमेत तयार नभएको उनको भनाइ छ।
“लामो समयसम्म बैंक खाता सञ्चालन प्रक्रिया अवरुद्ध हुने र भुक्तानी प्रक्रियामा पटक-पटक ढिलाइ गर्नु गम्भीर विषय हो। बजेट कार्यान्वयनको महत्वपूर्ण समयमा नगरपालिकालाई गत्यारोध गर्ने प्रयास दुर्भाग्यपूर्ण हो,” उनले वक्तव्यमा भनेकी छन्।
स्थानीय तहलाई संविधानअनुसार सञ्चालन गर्ने दायित्व सरकारको भए पनि कर्मचारीतन्त्रमार्फत अनावश्यक हस्तक्षेप भइरहेको उनको आरोप छ। मेयर साहले भनिन्, “नगरसभाबाट पारित कार्यक्रमको भुक्तानीसमेत ‘माथिको आदेश’ भन्दै रोक्ने कामले स्थानीय स्वायत्ततामाथि प्रश्न उठाएको छ।”
उनले अन्त्यमा प्रश्न गरिन्, “के मौलापुर नगरपालिका बन्द गर्नुपर्ने हो? होइन भने गैरकानुनी हस्तक्षेप तत्काल बन्द गर्नुस्। अन्यथा ताल्चा लगाउन हामी बाध्य हुनेछौं।”

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE