एन्फालाई २४ घन्टा भित्र जवाफ दिन राखेपको पत्र

काठमाडौं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।
एन्फाले प्रचलित कानुन विपरीत निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाउँदै राखेपले यस्तो निर्देशन दिएको हो।
राखेपले पठाएको पत्रमा एन्फाले आवश्यक समन्वय नगरी तथा स्वीकृति नलिई साधारण सभा र निर्वाचनको तालिका सार्वजनिक गरेको उल्लेख गरिएको छ।
यसअघि पनि परिषद्ले फागुन २५ गते पत्र पठाउँदै कानुनी प्रक्रिया पूरा नभएसम्म साधारण सभा र निर्वाचन स्थगित गर्न भनेको थियो।
राखेपले युवा तथा खेलकुद मन्त्रालयको राय र मन्त्रीस्तरीय निर्णयका आधारमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार निर्देशन दिएको जनाएको छ। तर एन्फाले त्यसको पूर्ण पालना नगरेको राखेपको भनाइ छ।
एन्फाले भने अन्तर्राष्ट्रिय निकाय फिफा र एएफसीको निर्देशनलाई आधार मानेर निर्वाचन स्थगित गर्न नसकिने जवाफ दिएको छ।
यसबीच एन्फा तोकिएकै मितिमा निर्वाचन गर्ने तयारीमा रहेको छ। एन्फाले सूचना प्रकाशित गर्दै चैत १३ गते निर्वाचन हुने दिन सचिवालय बन्द रहने जनाएको छ।
राखेपको कार्यकारी समितिको बैठकले ऐनको दफा २९ अनुसार थप प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। साथै, एन्फामाथि कारबाही किन नगर्ने भन्ने विषयमा पनि स्पष्टीकरण मागिएको छ।
यसरी एकातिर सरकारले साधारण सभा रोक्न दबाब दिइरहेको छ भने अर्कोतिर एन्फा भने तोकिएकै समयमा निर्वाचन गर्ने अडानमा कायम छ।
स्रोत : हाम्रो खेलकुद


RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE