सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

काठमाडौंमा बढ्दो वायु प्रदूषण: विश्वकै तेस्रो प्रदूषित सहरमा सूचीकृत

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, ५ फागुन २०८२ – काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा तीव्र रूपमा बढेको छ। सोमबार मध्याह्न १७८ रहेको वायु गुणस्तर सूचकांक (AQI) आज मध्याह्नसम्म १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पर्ने देखिएको छ।
‘एयर क्वालिटी इन्डेक्स’को पछिल्लो तथ्यांकअनुसार आज काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ। दिल्ली २२९ एक्युआईसहित पहिलो तथा लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा रहेका छन्।
वर्षा नहुँदा थप जोखिम
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नभएसम्म प्रदूषणको मात्रा अझै बढ्न सक्ने सम्भावना छ। वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न सहयोग गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषण उच्च स्तरमा पुग्ने उनले बताए। सम्बन्धित निकायलाई दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिइएको उनले जानकारी दिए।
प्रदूषण बढ्नुका कारण
वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल–पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो तथा लामो समयसम्मको सुक्खा मौसम प्रमुख कारण हुन्।
“समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ,” उनले चेतावनी दिइन्।
एक्युआईको श्रेणी
०–५०: राम्रो (हरियो संकेत)
५१–१००: सामान्य/सचेत (पहेंलो संकेत)
१०१–१५०: अस्वस्थ (संवेदनशील समूहका लागि)
१५१–२००: सबैका लागि अस्वस्थ
२०१–३००: धेरै अस्वस्थ
३०० भन्दा माथि: अत्यन्तै खतरनाक
काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० नाघेमा विपद् घोषणा गर्ने व्यवस्था छ। त्यस्तो अवस्थामा फोहोर बाल्न रोक लगाउने, सडक सफाइमा ‘ब्रुमर’ र ‘भ्याकुम’को प्रयोग बढाउने तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने उल्लेख गरिएको छ।
राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु, जल, माटो, ध्वनि तथा अन्य प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्ने रणनीति लिएको छ। प्रमुख सहर र औद्योगिक क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी नियमित अनुगमन गर्ने व्यवस्था समेत गरिएको छ।
सर्वसाधारणलाई आग्रह
विशेषज्ञहरूले सकेसम्म बाहिरको गतिविधि घटाउन, मास्क प्रयोग गर्न, धुलो–धुवाँबाट टाढा रहन तथा संवेदनशील समूहले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x