सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन स्वच्छतामा चुनौती आचारसंहिता उल्लंघन गर्नेको संख्या दैनिक बढ्दो

बिहीबार २२ माघ २०८२
काठमाडौं / निर्वाचन नजिकिँदै जाँदा फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत हुने चुनावी प्रचार तीव्र बन्दै गएको छ। यीसँगै सामाजिक सञ्जालको दुरुपयोग निर्वाचन आयोगका लागि गम्भीर चुनौतीको रूपमा देखा परेको छ।
निर्वाचन आचारसंहिता लागू हुनु अघिदेखि नै यस विषयलाई संवेदनशील रूपमा लिँदै आएको आयोगले सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन हुन थालेपछि धमाधम स्पष्टीकरण सोध्न थालेको जनाएको छ। आयोगका अनुसार हालसम्म संघसंस्था र उम्मेदवार गरी ३० जनाभन्दा बढीलाई स्पष्टीकरण सोधिसकिएको छ।
सामाजिक सञ्जालमार्फत उत्तेजक, लान्छनायुक्त तथा मर्यादाविपरीतका अभिव्यक्ति दिने, एक–अर्काको सम्मानमा आँच पुर्याउने गतिविधि मुख्य उल्लंघनका रूपमा देखिएका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सूचना प्रविधिको तीव्र प्रयोगले आचारसंहिता कार्यान्वयनमा थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै भन्नुभयो,
“सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना, घृणास्पद अभिव्यक्ति र भ्रमपूर्ण सामग्री नियन्त्रणमा आयोगको विशेष ध्यान केन्द्रित छ।”
निर्वाचन आचारसंहितामा सामाजिक सञ्जालको गलत प्रयोग तथा एआईमार्फत दुष्प्रचार गरे उम्मेदवारी नै खारेज हुन सक्ने कडा व्यवस्था गरिएको छ। एआईको प्रयोग गरी यथार्थता बंग्याउने, गलत र भ्रामक सूचना फैलाउने कार्यलाई निरुत्साहित गर्न आयोगले सचेतनामुखीभन्दा सजायमुखी नीति अवलम्बन गरेको जनाएको छ।
यसैबीच सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोग रोक्न पहल गर्ने प्रतिबद्धतासहित टिकटकको प्रतिनिधिमण्डल निर्वाचन आयोग पुगेको छ। भेटका क्रममा आयुक्त भण्डारीले सामाजिक सञ्जालमार्फत हुने दुरुपयोग रोक्न सबै पक्ष जिम्मेवार र सजग हुनुपर्नेमा जोड दिनुभयो।
आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी मिथ्या सूचना, भ्रम फैलाउने सामग्री तथा आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्ने प्रयास भइरहेको पनि जनाएको छ। यसअघि मेटा र टिकटकका प्रतिनिधिहरूलाई मिथ्या सूचना रोक्न औपचारिक पत्राचार गरिएको थियो।
“विश्वको ध्यान अहिले हाम्रो निर्वाचन प्रणालीमाथि छ,” आयुक्त भण्डारीले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन सहयोग गर्ने प्रतिबद्धता अत्यन्त महत्वपूर्ण छ।”
विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढ्दै गएको सन्दर्भमा आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै दुरुपयोग नियन्त्रणका लागि कडा कदम चाल्ने तयारी गरेको छ। यसका लागि सूचना सदाचार प्रवर्द्धन एकाई स्थापना गरी सामाजिक सञ्जाल अनुगमन सफ्टवेयर प्रयोगमा ल्याइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सामाजिक सञ्जालबाट फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, डिपफेक, झुटा साइट वा एकाउन्ट, निन्दा तथा मानहानि जस्ता गतिविधिको नियमित अनुगमन हुनेछ। गैरकानुनी कार्यमा संलग्नलाई कानुनबमोजिम दण्डित गर्न नियामक निकायहरूसँग सहकार्य गरिने पनि आयोगको तयारी रहेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE