नागरिक सर्वोच्चताको संकल्प; आजपा नै हो अबको विकल्प: प्रवक्ता सीबी साह

सोमबार १४ पुस २०८२
काठमाडौं / आम जनता पार्टी (आजपा) ले आफ्नो ऐतिहासिक तेस्रो स्थापना दिवस विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाइरहेका बेला पार्टीका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साह (सीबी साह) ले नागरिक सर्वोच्चतामा आधारित वास्तविक लोकतन्त्रको स्थापना आजपाको मूल संकल्प रहेको स्पष्ट पारेका छन् । “आजपा नै अबको वैकल्पिक शक्ति हो” भन्ने दृढ उद्घोष गर्दै उनले वर्तमान दलतान्त्रिक व्यवस्थाले मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप समेत लगाएका छन् ।
पुस १४ लाई केवल एउटा राजनीतिक दलको वार्षिकोत्सवका रूपमा नभई आम नेपाली जनताको गरिमा, स्वाभिमान र सार्वभौमसत्ता पुनःस्थापनाका लागि सुरु भएको संघर्षको ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्ने उनको भनाइ छ । प्रवक्ता साहका अनुसार, हिजो निरंकुश राजतन्त्रमा राजा र तीनका भाइभारदारको रजगज रहन्थयों भने आज ठूला पार्टीहरु ‘दल एण्ड कम्पनी प्रा.लि.’ जस्तै बनेर प्रमुख नेता र तिनका आसेपासेको स्वार्थपूर्तिमा सीमित भएका छन् ।
उनले वर्तमान राजनीतिक अवस्थालाई “भ्रष्ट, दलाल र भगौडाहरूको दलतन्त्र” को संज्ञा दिँदै भन्ने, “सत्ता र पहुँचका वरिपरि सीमित शासकप्रशासक र विचौलिया मालामाल छन्, तर श्रमजीवी आम जनता लाचार र निराश छन् ।” यही कारण जनतामा अन्यौल, आक्रोश र असन्तोष चरम सीमामा पुगेको उहाँको विश्लेषण छ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र अर्थतन्त्र एकसाथ संकटग्रस्त बन्दै गएको भन्दै उहाँले यो अन्धकारमय अवस्थाबाट निकासका लागि वर्तमान दलतन्त्रको समूल अन्त्य अपरिहार्य रहेको उनको जिकिर छ ।
प्रवक्ता साहले आम जनता पार्टीलाई सत्ता स्वार्थ वा सम्झौताको उपज नभई आम जनताको आकांक्षा, शोषितपीडितको आँसु र आवाजबाट जन्मिएको संघर्षशील आन्दोलनको रूपमा चित्रण गरेका छन् । उनले भने, “सडकदेखि संसदसम्म, हरेक मोर्चामा देश र जनताको सर्वोपरि हितका लागि निरन्तर संघर्षरत आजपा आज न्यायप्रेमी, देशभक्त र प्रगतिशील नेपाली जनतामाझ बलियो विश्वास र विश्वसनीय विकल्पको रूपमा स्थापित हुँदै गएको छ ।”
नयाँ नेपालको आधार निर्माणका लागि सिस्टममा सुधार सहित स्थिरता, सुशासन, न्याय, समता, शान्ति र समृद्धिलाई मूल लक्ष्य बनाउँदै आजपा अगाडि बढिरहेको उल्लेख गर्दै प्रवक्ता साहले सम्पूर्ण अग्रगामी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति, समूह तथा व्यक्तिहरूलाई यस महाअभियानमा एकाकार हुन हार्दिक अपील समेत गरेका छन् ।
तेस्रो स्थापना दिवसको अवसरमा सम्पूर्ण शुभेच्छुक, समर्थक, नेताकार्यकर्ता र आम नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले अन्त्यमा “राष्ट्रियता जोगाऔँ! लोकतन्त्र बचाऔँ !! अर्थतन्त्र सुधारौँ !!! को सशक्त नारा समेत दोहोर्याएका छन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE