शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

एमालेको सचिवालय बैठक आज बस्दै

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

बिहीबार १९ भदौ २०८२

काठमाडौं /नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

सो बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने र बैठकमा भोलि (शुक्रबार)देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी गराउनु भएका छन ।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुने उनले जानकारी दिए।

यसैबीच एमालेको दोस्रो विधान महाधिवेशनमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी समूहको फरक मत राख्नै नदिने रणनीतिमा संस्थापन पक्षधर नेताहरू लागेका छन्।
भण्डारी समूहका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा फरक मत राख्ने तयारी गरेपछि सचिवालयमै त्यसलाई रोक्ने तयारी छ।
एमालेका महासचिव शंकर पोखरेलले यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा फरक मतलाई पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रवेश नदिने संकेत गरेका हुन्।

महासचिव पोखरेलले पार्टीभित्र अहिले विचार वा दस्तावेजमाथि कुनै फरक मत नरहेको दाबी गर्दै भने, ‘तर निर्णयमाथि दुई उपाध्यक्षको असहमति आएको छ। उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने र सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयप्रति फरक मत राख्नुभएको छ। यसबारे छलफल विधान महाधिवेशनमा नहुन सक्छ।’

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु हुँदैन भनेर गरिएको निर्णय र सदस्यता रोक्ने केन्द्रीय कमिटीको निर्णयलाई उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले अस्वीकार गर्नुपर्छ भनेर फरक मत राखेको उनले जानकारी दिए। त्यस्तै, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी जीवनमा लोकतान्त्रीकरणबारे कुरा उठाएको पनि पोखरेलको भनाइ छ।

७० वर्षे उमेरहद, पदाधिकारीमा दुई कार्यकालको व्यवस्था उल्ट्याउँदै तेस्रो कार्यकालका लागि ओलीलाई अध्यक्षमा सुनिश्चित गर्न यी नेता असन्तुष्ट छन्। एमाले सदस्य हुन मार्क्सवाद-लेनिनवाद, जबजको सिद्धान्त, कार्यक्रम, नीति र विधानलाई स्वीकार नगर्ने व्यक्तिलाई समेत सदस्यता दिनेगरी विधान संशोधनको प्रस्ताव गरिएको छ।

पार्टीमा दुईखाले पार्टी सदस्यहरूको व्यवस्था, ७० वर्षे उमेरहद नरहने, पार्टीका जिल्ला कमिटीलाई कार्यकारी रूपमा कायम गर्ने, २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एक तिहाइ पोलिटब्युरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहनेलगायतको नयाँ व्यवस्था प्रस्ताव गरिएको उनले जनाएका छन्। पदाधिकारीमा एक जना महिला भने अनिवार्य गरिएको छ।

पार्टी महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्तावमा पार्टी निर्माणका क्षेत्रमा देखापरेका समस्या र समाधानका उपायहरू, पार्टी निर्माणका क्षेत्रमा आजसम्मका विकसित सर्वस्वीकार्य मान्यताका आधारमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ।

२० देखि २२ भदौमा हुने विधान महाधिवेशनका लागि ललितपुरको गोदावरीमा धमाधम तयारी भइरहेको छ। गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुँदै छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x