विपी राजमार्गमा राति यातायात सञ्चालनमा एक महिनाका लागि रोक

काभ्रेपलाञ्चोक / विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा एक महिनाका लागि रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न आजको सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
कार्यालयले मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ।
यसअघि यही असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले विपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ः०० बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताए।
गत वर्ष असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो। त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो। पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौँ यातायातका साधान आउजाउ गर्छन्।
बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियासमेत अघि बढाइरहेको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE