बिहीबार १५ जेठ २०८२
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताएको छ।
आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गल्ती प्रारम्भ भएको दिन (गणतन्त्र स्थापना भएको दिन) नै उक्त गल्ती सच्याउन आन्दोलनको सुरुवात गरिएको बताउनु भएका छन ।
देशमा राजसंस्था पुनर्स्थापना, हिन्दुराष्ट्र कायम र संघीयता खारेजीको माग लिएर आफूहरु आन्दोलनमा होमिएको बताएका छन् ।
‘आजको दिन हामीले यो आन्दोलन किन प्रारम्भ गरिराखेका छौं भने जहाँबाट गल्ती प्रारम्भ भयो, त्यहीबाट सच्याउनुपर्छ भनेर आजको मितिबाट घोषणा गरेका हौं । नेपालमा राजसंस्थाको स्थापना होस्, हिन्दुराष्ट्रको स्थापना होस्, संघीयताको खारेजी होस्, भ्रष्टाचारको अन्त्य भएर देशमा सुशासन कायम होस् । देशभित्रै हाम्रा युवाहरुले गरिखाने वातावरण निर्माण होस् । हाम्रै जीवनकालमा देश बनेको देख्न पाउँ भन्ने मूलभूत उद्देश्य राखेर यो आन्दोलनको प्रारम्भ गरेका छौं । यो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने कुरा पनि म जानकारी गराउन चाहन्छु,’– उनले भने ।

गत चैत १५ गतेको आन्दोलनमा सरकारले हिंसा भड्काएको उनको आरोप छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानविन आयोग गठन गरिनुपर्ने र त्यसमा संलग्नहरुलाई उत्तरदायी बनाउनुपर्ने उनले बताए । नेता लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले आजको आन्दोलनमा पनि सत्ता पक्षले हिंसा भड्काउन चाहन्छ भन्ने कुरालाई पुष्टि गर्ने बताए । कुनै पनि आन्दोलन हिंसात्मक नहोस् भन्ने कुरामा सचेत हुँदै आफूहरुले मानव अधिकार आयोग, नागरिक समाज, सञ्चार जगत र सरोकारवाला सबै राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई ध्यानाकर्षण गरेको उनले बताए ।
‘प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिहरुले सत्तापक्ष हिंसा भड्काउन चाहन्छ । प्रदर्शनलाई हिंसात्मक बनाउन चाहन्छ भन्ने कुरा देखिन्छ । तर, हामी सचेत छौं, हामीले मानव अधिकार आयोग, नागरिक समाज, सञ्चार जगत र राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित सबै संघ संस्थालाई ध्यानाकर्षण गरको छौं,’– उनले भने ।
WRITE COMMENTS FOR THIS ARTICLE